वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्यांकरहरू’ अवरुद्ध गर्ने आदेश जारी गरेका छन् । यस घोषणासँगै उनले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाएका छन् ।

ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै तर भेनेजुएलालाई विशेष रूपमा लक्षित गर्दै अमेरिकाले महिनौँदेखि क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी विस्तार गर्दै आएको छ । काराकासले यस अभियानलाई वामपन्थी शक्तिशाली राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ । मदुरोलाई वासिङ्टनसहित धेरै देशले अवैध राष्ट्रपति मान्दै आएका छन् । साथै, भेनेजुएलाले यसलाई आफ्नो तेल चोर्ने योजनाका रूपमा पनि हेरेको छ ।

ADVERTISEMENT

देशको हवाई क्षेत्रलाई बन्द मानिनुपर्ने र भूमिमा लागुऔषध तस्करी रोक्ने प्रयास चाँडै सुरु हुने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्र सैन्य कारबाहीसमेत हुनसक्ने आशय व्यक्त गरेपछि पछिल्ला हप्ताहरूमा दुवै देशबीच तनाव बढेको छ ।

गत हप्ता अमेरिकाले भेनेजुएलाबाट बाहिरिएको एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो भने भेनेजुएलाको तेल उद्योगसँग सम्बन्धित अन्य धेरै जहाज तथा कम्पनीहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गर्दै अभियानमा थप कडाइ गरेको थियो ।

ADVERTISEMENT

‘आज म भेनेजुएलाभित्र र बाहिर जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूलाई पूर्ण रूपमा अवरुद्ध गर्ने आदेश दिन्छु’, राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । क्यारिबियन क्षेत्रमा तैनाथ विश्वकै सबैभन्दा ठूलो विमानवाहकसहितका धेरै नौसेना र समुद्री सेनाको उल्लेख गर्दै उनले भने, ‘भेनेजुएला अहिले दक्षिण अमेरिकाको इतिहासमै भेला भएको सबैभन्दा ठूलो नौसैनिक बेडाले घेरिएको छ ।’

भेनेजुएलाको अर्थतन्त्र कच्चा तेल निर्यातमा अत्यधिक निर्भर रहेकाले तेल क्षेत्रलाई कमजोर पार्ने यस्ता कदमले राष्ट्रपति मदुरोमाथि थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । तर मंगलबार राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल उत्पादनमा अमेरिकाको पहुँच पुनः प्राप्त गर्ने लक्ष्य पनि स्पष्ट पारे ।