क्वालालम्पुर । थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए ।
सम्झौताअनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । क्षेत्रीय पर्यवेक्षकहरूले स्थायीत्वको सुनिश्चितताका लागि सीमा क्षेत्रको निगरानी गर्नेछन् । राष्ट्रपति ट्रम्पले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘हामीले त्यो कार्य सम्पन्न गरेका छौँ, जुन धेरैले गर्न सक्दैनन् ।’
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गरे । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिए ।
क्वालालम्पुरमा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को वार्षिक शिखर सम्मेलनमा आइपुगेपछि राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक कार्यक्रम थियो ।
जापान र दक्षिण कोरियाको भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सम्भावित भेटसमेत समावेश यस भ्रमणले ट्रम्पलाई अन्तर्राष्ट्रिय सम्झौता निर्माताको छवि बलियो पार्ने अवसर दिएको छ ।
विशेषतः प्रविधि उत्पादनमा आवश्यक घटकहरूको आपूर्तिलाई विविधिकरण गर्न अमेरिका हाल चीनमा निर्भरता घटाउने रणनीतिमा अघि बढिरहेको छ । यस सन्दर्भमा ट्रम्पको यो भ्रमण एसियाली बजारसँग पुनः सम्बन्ध विस्तार गर्ने कदमका रूपमा हेरिएको छ ।
ट्रम्प आफ्नो पहिलो कार्यकालमा केवल एकपटक मात्र आसियान शिखर सम्मेलनमा सहभागी भएका थिए । यसपालि कार्यक्रममा उनले विश्व शान्ति स्थापनाका प्रयासमा नयाँ भूमिकाको प्रदर्शन गरेका छन् ।
थाइल्यान्ड र कम्बोडियाबीच यसअघि जुलाई महिनामा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु भएको र लाखौँ विस्थापित भएका थिए । पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो सशस्त्र झडप थियो ।
त्यसबेला राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबन्ध र व्यापार सम्झौता रोक्ने चेतावनी दिएपछि दुवै देश वार्तामा बस्न तयार भएका थिए । त्यसयता अस्थायी युद्धविराम कायम थियो, जुन आइतबारको सम्झौताले औपचारिक रूप प्राप्त गरेको छ । सम्झौतापछि राष्ट्रपति ट्रम्पले कम्बोडिया र थाइल्यान्डसँग छुट्टाछुट्टै आर्थिक सहकार्य सम्झौतामा पनि हस्ताक्षर गरेका छन् ।







