काठमाडौं, १२ फागुन। आसन्न निर्वाचनका लागि चीन सरकारले ४० लाख अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने भएको छ। उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल का अनुसार चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी बैठकले दीवाकर भट्ट लाई काठमाडौं जिल्ला अदालत को कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय गरेको छ। साथै, विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदासमेत निर्धारण गरिएको छ।
बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्को बैठक
काठमाडौँ, १२ फागुनः प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस








