काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गरिने भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाबारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

दुर्घटनापछि गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो । बैठकले घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न विभिन्न अस्पतालहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

ADVERTISEMENT

बैठकमा पछिल्लो समय बढिरहेको दुर्घटनाबारे पनि छलफल भएको थियो । दुई साताअघि बैतडी र साताअघि रामेछापमा पनि दर्जनौ यात्रुको ज्यान जानेगरी दुर्घटना भएकोमा त्यसबारे समीक्षा भएको बताइन्छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार बिहान करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

१७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । प्रहरीका अनुसार कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ जना ल्याइएको छ । ट्रमामा एकजना युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

तीनवटै सुरक्षा निकायका प्रमुख, सडक विभाग, यातायात व्यवसायी महासंघ, भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहरु सहभागी बैठकले दुर्घटनाको छानविन गर्न समिति बनाउने निर्णय गरेको हो ।