सुनसरी (इनरुवा)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरीका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार सम्पन्न सर्वदलीय बैठकमा सहभागी विभिन्न राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्ध रहने सहमति व्यक्त गरेका हुन्। बैठकमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै दलले आ–आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

बैठकमा फागुन १२ गतेभित्र आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री तथा ब्यानर हटाउने, अटेर गरे कानुनबमोजिम कारबाही गर्ने, प्रचारप्रसारमा डिजे प्रयोग नगर्ने तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले भूमिका निर्वाह गर्ने निर्णय गरिएको जनाइएको छ।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मी तयारी अवस्थामा रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिव राम कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति सागर दाहाल, जसपाका महेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

जिल्लामा निर्वाचनका लागि आवश्यक मतपत्रसहित विभिन्न प्रकारका निर्वाचन सामग्री आइसकेको र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए। सुनसरी जिल्लामा चार निर्वाचन क्षेत्र र १६७ मतदान स्थल रहेका छन्।