काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको होली पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन सर्वसाधारणसँग आग्रह गरेको छ। प्रशासनले आसन्न निर्वाचन तथा समग्र शान्तिसुरक्षालाई ध्यानमा राख्दै होली पर्व घरपरिसरभित्र परिवारजन तथा साथीभाइसँग मनाउन अनुरोध गरेको हो।
कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा होली मनाउन कुनै बाधा नपर्ने स्पष्ट पार्दै खुला सडक तथा सार्वजनिक स्थानमा अनावश्यक भीडभाड नगर्न, मेला–महोत्सव आयोजना नगर्न र मदिरा सेवन तथा बिक्रीवितरण नगर्न निर्देशन दिइएको छ।
‘विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भडक सहितका विभिन्न खर्चिलारभड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ। सामाजिक व्यवहार (सुधारं) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको बिदितै छ। तसर्थ चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जवरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा आसन्न निर्वाचनलाई लक्षित गरी लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारका क्रममा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर अंकित टोपी, टी–सर्ट, ज्याकेट, झोला लगायतका सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ। होलीका अवसरमा यस्ता राजनीतिक प्रतीक प्रयोग गरी आचारसंहिता उल्लङ्घन नगर्न प्रशासनले सचेत गराएको छ।
कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, होहल्ला तथा अराजक गतिविधि गर्ने कार्य कानुनविपरीत हुने भन्दै यस्ता गतिविधि नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। प्रशासनले सबैलाई सभ्य, मर्यादित र कानुनसम्मत रूपमा होली पर्व मनाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।
‘आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गरी धार्मिक तथा सांस्कृतिक रुपमा आ आफ्नो घर कम्पाउण्डभित्र अरु कोही कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन, साथीसंगीहरु सँग यो पर्व मनाउन बाधा नपर्ने तर खुला सडक, सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगितिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको विक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।








