काठमाडौं । विना अवरोध बाहिरी जिल्लाबाट आएका सवारीसाधन काठमाडौं भित्रिन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने र बाहिरने गाडीहरूलाई सञ्चालनको अनुमति दिएको छ ।

अत्यधिक वर्षाका कारण राजमार्गहरूमा पुग्ने क्षतिलाई ख्याल गरेर सरकारले शनिबार तीन दिनका लागि काठमाडौं उपत्यकामा भित्रिने र बाहिरने गाडीसहित लामो दूरीका गाडी सञ्चालनमा रोक लगाएकोमा आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर सञ्चालनको अनुमति दिएको हो ।

ADVERTISEMENT

प्रशासनको सूचनामा अहिले मौसम सुधार भएर धादिङ, नुवाकोट, काठमाडौं–दक्षिणकाली सडकखण्डका पहिरोहरू पन्छाइसकिएकाले एकतर्फी रूपमा गाडी सञ्चालनको अनुमति दिएको उल्लेख छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरूपमा खुलेको छ ।

ADVERTISEMENT

काठमाडौं भित्रिने अरनिको राजमार्ग पनि खुलेको छ । काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएपछि गाडी चल्न थालेको हो । यो मार्गबाट दोलखा, रामेछापसहित ओखलढुंगा र सोलुखुम्बुका केही भागका बासिन्दा आवतजावत गर्छन् । बीपी राजमार्गमा भने धेरै क्षति पुगेकाले तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने सडक आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यका भित्रिनेसहित देशका अरू ठाउँमा राजमार्गहरू पनि सञ्चालनमा आउन थालेका छन् । मुग्लिनबाट पोखरा जाने सडक पनि पूर्णरूपमा सञ्चालनमा छ ।