वालिङ।  स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन जिल्ला निर्वाचन कार्यालयले गाउँगाउँमा स्वयंसेवक परिचालन गरेको छ।

जिल्लामा दुई निर्वाचन क्षेत्रअन्तर्गत ११ स्थानीय तहका ९७ वडा रहेका छन्। यसअघि भएका निर्वाचनमा औसतमा करिब चार प्रतिशत मत बदर हुने गरेको थियो। यसलाई घटाउन प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार, “जिल्लाका ९७ वटै वडामा मतदातालाई मतदान गर्ने तरिका सिकाउने गरी एक–एक जना स्वयंसेवक परिचालन गरेका छौँ। उनीहरूले आ–आफ्नो वडाका टोल, समूह तथा घरघरमै पुगेर मतदान गर्ने तरिका र सदर मतको महत्वबारे जानकारी दिनेछन्।”

स्वयंसेवकहरूले जिम्मेवारीअनुसार कार्य नगरेको अवस्थालाई अनुगमन गर्न प्रत्येक स्थानीय तहमा एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकिएको छ। नमूना मतपत्र र स्वस्तिक छापसहित परिचालित स्वयंसेवकले मतदातालाई सदर मत प्रयोगका लागि सहयोग गर्ने लक्ष्य राखिएको छ।

ADVERTISEMENT

जिल्लामा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी र ९०० स्वयंसेवक खटिनेछन्। सुरक्षा व्यवस्था अन्तर्गत एक हजार ९४७ सुरक्षाकर्मी पनि परिचालित हुनेछन्।

स्याङ्जामा एक सय ९९ मतदानस्थल र ३२२ मतदान केन्द्र रहेका छन्। पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा छ जना कर्मचारी र तीन जना स्वयंसेवक रहने गरी व्यवस्थापन गरिएको छ।