काठमाडौं। गृह मन्त्रालयले तराई–मधेसका केही जिल्लामा पछिल्ला दिनमा देखिएका धार्मिक तथा सामाजिक तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। मन्त्रालयले सबै धर्म, समुदाय र राजनीतिक पक्षबीच पारस्परिक सम्मान र सहिष्णुता कायम राख्न आग्रह गरेको हो।

मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका उक्साहटपूर्ण गतिविधि नगर्न–नगराउन र सामाजिक सद्भावमा असर पर्ने कामबाट टाढा रहन अनुरोध गरिएको छ। पछिल्लो समय केही स्थानमा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र राजनीतिक दलका झन्डा जलाउने जस्ता घटना भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता क्रियाकलाप कानुनविपरीत भएको स्पष्ट पारेको छ।

यसैबीच, गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गरेको छ। बैठकले मधेस क्षेत्रमा देखिएका र देखिन सक्ने सम्भावित गतिविधिको विश्लेषण गरी प्रतिवेदन पेस गर्न नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार चतुर्वेदी मधेस क्षेत्रमा पुगिसकेका छन् र त्यहाँको सुरक्षा संवेदनशीलता अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेछन्। साथै संवेदनशील क्षेत्रमा उच्च तहका सुरक्षा अधिकारी परिचालन गर्न पनि निर्देशन दिइएको छ।

रौतहटलगायत केही जिल्लामा दुई समुदायबीचको तनावपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ। चुनावी प्रचारप्रसारका क्रममा समेत विभिन्न उक्साहटपूर्ण गतिविधि देखिन थालेपछि गृहले सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको जनाएको छ।

मन्त्रालयले सामाजिक सद्भाव खल्बल्याउने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाइने जानकारी गराएको छ।