काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् । नियमित हवाई उडान प्रभावित भएपछि उनी हेलिकोप्टर चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
विमानस्थलबाट उनी कारमा चढेर बाहिरिएका थिए । उनलाई स्वागत गर्न सयौं राजावादी चक्रपथमा बसेका छन् । राजावादी दुर्गा प्रसाई र राप्रपाले पूर्वराजा शाहलाई भव्य स्वागत गरेर निर्मल निवास लैजाने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबारदेखि एक महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र वरपर निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले निषेधाज्ञा जारी गरे पनि राजावादीको भिड एयरपोर्ट अगाडि पुगेको छ । अहिले शाहलाई कारमा चढाएर नाराबाजीसहित निर्मल निवास लगिँदैछ ।
झापाबाट काठमाडौँ फर्किएका शाहलाई स्वागत गर्न उनीसहित राजावादीहरूको एक समूह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेटअगाडि भेला भएको हो । प्रसाईंसहित राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, महाभियानका सदस्य कुमार बस्नेत, हरिहर चौलागाईं, ‘पहिला देश’ का संयोजक सुनिल प्रसाद शाह, वीर गोर्खाली मिडियाका संचालक मनोज सापकोटा लगायत चार हजारजति मानिस जम्मा भएर नाराबाजी गरिरहेका छन् ।
त्यसक्रममा ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाऊ’, ‘जय जय काली जय जय गोरखा हिन्दुराष्ट्र यसैपाली’, ‘हिन्दु अधिराज्य कायम गर’ जस्ता नारा लागेको छ ।








