काठमाडौं । दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकपमा अफगानिस्तानलाई पराजित गरेको छ । भारतको अहमेदाबामा भएको खेलमा पहिलो निर्धारित २० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको थियो ।
पहिलो सुपर ओभरसमेत बराबर भएपछि दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी भएको हो । दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अफगानिस्तानले मात्र १८ रन जोड्यो ।
यसअघि पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १७ रनको लक्ष्य दक्षिण अफ्रिकाले अन्तिम बलमा छक्का प्रहार गर्दै भेट्टाएपछि दोस्रो सुपर ओभरमा खेल पुगेको थियो । समूह ‘डी’ मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हो । यसअघि टोलीले क्यानाडालाई ५७ रनले पराजित गरेको थियो । लगातार दोस्रो हारपछि अफगानिस्तानको सुपर ८ सम्भवना कमजोर बनेको छ । पहिलो खेलमा अफगानिस्तान न्युजिल्यानडसँग पाँच विकेटले पराजित भएको थियो ।
समूहमा दुई खेलबाट चार अंक जोड्दै न्युजिल्यान्ड शीर्ष स्थानमा छ । युएई र क्यानाडाले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।
नरेन्द्र मोदी मैदानमा अफगानिस्तानले टस जितेर बलिङ रोजेको थियो । सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अफगानिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाउँदा एक सय ८७ रन नै बनायो ।








