मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरु भएको छ। नेपाल स्की सङ्घको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरिने भएको हो।

हिउँमा खेलिने स्की खेलको विकास र प्रवर्द्धन गर्दै पर्यटन प्रवाह बढाउने उद्देश्यले नेपाल स्की सङ्घले सन् २०१६ देखि राष्ट्रिय स्की प्रतियोगिता गर्दै आएको छ। पहिलो संस्करण रसुवाको क्यान्जेन भ्यालीमा आयोजना गरिएको थियो भने त्यसपछि अधिकांश प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुँदै आएका छन्। मुस्ताङमा सन् २०१९, २०२० र २०२२ मा स्की प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिताका लागि काठमाडौँबाट खेलाडी तथा अफिसियल टोली मुस्ताङ पुगिसकेका छन्। टोलीले बुधबार मुक्तिनाथ क्षेत्रमा स्की खेलका लागि आवश्यक ‘ग्राउन्ड लुप’ निर्माण गरिसकेको छ।

मुस्ताङ स्की सङ्घका अध्यक्ष सुरज गुरुङका अनुसार आजदेखि स्की खेलसम्बन्धी प्रशिक्षण सुरु भएको छ। बुधबार जुनियर खेलाडीलाई प्रशिक्षण दिइएको छ भने शुक्रबार सिनियर खेलाडीका लागि तालिम सञ्चालन गरिने छ। मौसमको अवस्थाअनुसार प्रतियोगिताको अन्तिम तालिका तय गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

यस प्रतियोगितामा १४ जना पुरुष र १० जना महिला खेलाडी सहभागी हुनेछन्। साथै मुस्ताङमा कार्यरत नेपाली सेनाका केही खेलाडीले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव विजय श्रेष्ठलगायतको टोली पनि मुस्ताङ आउने कार्यक्रम रहेको छ। सिनियर प्रशिक्षक स्वराज श्रेष्ठसहित सहायक प्रशिक्षक दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन तथा शारीरिक प्रशिक्षक बिमन्थ अधिकारीले खेलाडीलाई प्रशिक्षण दिनेछन्।

नेपाल स्की सङ्घका महासचिव विजय श्रेष्ठका अनुसार यसपटकको प्रतियोगितामा अल्पाइन स्की अन्तर्गत स्लालोम र जाइन्ट स्लालोम विधि समेटिएको छ। प्रतियोगिताका विजेतालाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ। खेलाडी तथा अफिसियलको आवास, खानपान र यातायात खर्च आयोजक नेपाल स्की सङ्घले व्यहोर्ने जनाएको छ।

सन् २०२२ पछि आयोजना हुन नसकेको स्की प्रतियोगिता यस वर्ष मुक्तिनाथ क्षेत्रमा पर्याप्त हिमपात भएपछि सम्भव भएको हो। यस याममा मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भइसकेको छ।

हिउँमा विशेष पोसाक र उपकरण प्रयोग गरी चिप्लिएर खेलिने साहसिक खेललाई स्की भनिन्छ। विकसित मुलुकमा कृतिम हिउँ प्रयोग गरेर प्रतियोगिता सञ्चालन गरिने भए पनि नेपालमा स्रोतसाधनको अभावका कारण प्राकृतिक हिमपातकै भरमा प्रतियोगिता आयोजना हुँदै आएको सङ्घले जनाएको छ।

मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिताको चहलपहल सुरु भएसँगै पर्यटक र स्थानीयवासीमा उत्साह बढेको छ। यस प्रकारका साहसिक खेलमार्फत बेमौसमी पर्यटन घाटा कम गर्न सकिने विश्वास गरिएको छ भने राज्यले यस्ता खेललाई प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।