काठमाडौँ।  पछिल्लो सातादेखि बजारमा ग्यासको अभाव चरम रूपमा देखिएको छ। विशेष गरी नेपाल ग्यासका सिलिण्डर नपाउँदा उपभोक्ताहरू दैनिक समस्यामा परेका छन्।

भारतबाट समयमै ग्यास ढुवानी नहुँदा राजधानीका विभिन्न विक्री केन्द्रमा ग्यास अभाव बढेको हो। दुई सातादेखि ग्यास नपाउँदा उपभोक्ताहरू खाली सिलिण्डर बोकेर बालाजु औद्योगिक केन्द्रस्थित नेपाल ग्यासको कार्यालयमा पुग्ने गरेका छन्। कार्यालयमा बिहानदेखि दिउँसो २ बजेसम्म मात्रै वितरण गरिए पनि, दैनिक सयौं उपभोक्ता लाम लागेर बस्न बाध्य छन्।

नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले ग्यास अभावको समस्या कायम रहेको जानकारी दिएको छ। उपभोक्ताहरूले ग्यास नपाएको गुनासो गर्दै समस्याको छिटो समाधानको अपेक्षा राखेका छन्।