काठमाडौँ। सामान्यतया बयस्क उमेरका मानिसमा देखिने ‘ग्यास्ट्रिक’ समस्या बालबालिकामा पनि हुने गरेको चिकित्सकहरूले बताएका छन्। बालबालिकामा ग्यास्ट्रिक हुनुको प्रमुख कारण ‘एच–पाइलोरी’ नामक किटाणुको सङ्क्रमण रहेको कान्ति बाल अस्पतालका बाल पेटरोग विशेषज्ञ डा. सुमित अग्रवालले जानकारी दिनुभयो।
डा. अग्रवालका अनुसार एच–पाइलोरी किटाणुको सङ्क्रमण सानै उमेरदेखि हुन सक्छ। बच्चाहरूले चिल्लो, पिरो तथा जङ्कफुड बढी सेवन गर्ने गरेमा ग्यास्ट्रिकको समस्या देखिने गर्दछ। साथै, पेनकिलर औषधिको प्रयोगले पनि बालबालिकामा ग्यास्ट्रिक हुने जोखिम बढाउने उहाँको भनाइ छ।
बयस्क व्यक्तिमा ग्यास्ट्रिक हुँदा पेट दुख्ने, खाना नरुच्ने तथा मुखमा अमिलो आउने जस्ता लक्षण देखिएजस्तै बालबालिकामा पनि मुखबाट अमिलो पानी आउने, बिहान र साँझ पेट दुख्ने, खाना खाएपछि पेट धेरै दुख्ने वा कम हुने, लगातार बान्ता आउने तथा पेट फुल्ने जस्ता समस्या देखिने गर्छन्।
उपचार ढिला भएमा बच्चाको आहार क्रमशः घट्दै जाने र तौलसमेत कम हुँदै जाने खतरा रहने चिकित्सकको भनाइ छ। समयमै उपचार नगरे ग्यास्ट्रिकको समस्या जटिल बन्दै पेट दुखाइ बढ्ने, मुखबाट रगत आउने, सानो आन्द्राको प्वाल खुम्चिने तथा सानो आन्द्राको पहिलो भागमा अल्सरसमेत हुन सक्ने डा. अग्रवालले बताउनुभयो।
उहाँका अनुसार कान्ति बाल अस्पतालमा दैनिक दुईदेखि तीन जना ग्यास्ट्रिक समस्या भएका बालबालिका उपचारका लागि आउने गरेका छन् भने हप्तामा एक–दुई जना रगत बान्ता गर्ने बिरामीसमेत आउने गरेका छन्।
डा. अग्रवालले हप्तामा तीनदेखि पाँचवटा इन्डोस्कोपी परीक्षण गर्दा करिब ७५ प्रतिशत बालबालिकामा एच–पाइलोरी किटाणुको सङ्क्रमण देखिने गरेको जानकारी दिनुभयो। शरीरमा आवश्यकभन्दा बढी एसिड उत्पादन हुनु नै सामान्यतया ग्यास्ट्रिकको समस्या हो।
सामान्यतया १८ महिनादेखि १४ वर्ष मुनिका बालबालिकामा एच–पाइलोरी किटाणुको सङ्क्रमण देखिने गरेको र किटाणु सानै उमेरदेखि शरीरमा भए पनि सात–आठ वर्षपछि मात्रै यसको लक्षण प्रकट हुने उहाँले बताउनुभयो। एच–पाइलोरी किटाणुको उपचारका लागि दुई हप्ता औषधि सेवन गरेमा रोग पूर्ण रूपमा निको हुने चिकित्सकको भनाइ छ।










