काठमाडौं । निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको कठिन परिस्थिति सधैं नरहने भन्दै धैर्य राख्न सुझाएका छन् । पत्नी आरजु राणाको ६३औँ जन्मदिनका अवसरमा सोमबार महाराजगन्जस्थित निवासमा पुगेका सीमित नेता कार्यकर्तासँग देउवाले अहिलेको कठिन समय बितेर जाने बताए ।

आरजुको जन्मदिन मनाउन नेविसंघ र तरुण दलका केही नेता कार्यकर्ता देउवा निवास पुगेका थिए । ‘मिलेर भित्रभित्रै पार्टी कब्जा गर्लान् भनेर उहाँले पनि सोच्नु भएका रहेनछ । एकाएक चुनावको टिकट बाँड्न हतार भएकाले अहिले चुनावअघि केही गर्ने अवस्था पनि रहेन । अहिले यस्तै भयो अब यो समय सधैं यस्तै रहँदैन, चुनावपछि हेरौँला’ भनेर देउवाले भनेका थिए ।

महाराजगन्ज पुगेका मनिषजंग थापासहितका कार्यकर्ताले आफ्नो पक्षकालाई चुनावअघि नै आवश्यक निर्देशन दिन आग्रह गरेका थिए । तर देउवाले चुनावअघि कुनै पनि चलखेल नगर्न सचेत गराएको स्रोतले बतायो । चुनावलगत्तै वैशाखमा पार्टीको नियमित महाधिवेशन भएकाले अहिले गरेका चलखेल सबै त्यसबेला पोखिने डरले पनि देउवाले आफ्ना पक्षका नेता कार्यकर्तालाई सजग गराएको बताइन्छ । देउवाले आफू पार्टी सभापतिबाट हट्नुपरे पनि कुनै प्रतिशोध नराख्ने बताएका थिए ।

आइतबार देउवा पक्षले राष्ट्रिय भेला गर्न लागेको भनेर एकाएक समाचार आएपछि तरंग सिर्जना भएको थियो । देउवाले यो विषयमा पनि चासो राखेर निकट नेता कार्यकर्तालाई झपारेको स्रोतले बतायो । त्यसपछि पूर्व प्रचार विभाग प्रमुख मिन विश्वकर्माले राष्ट्रिय भेला राख्ने हल्ला र गगन थापालाई प्रधानमन्त्री नस्वीकार्ने बारे आएका समाचार भ्रमपूर्ण रहेको भन्दै प्रस्ट पारेका थिए । विश्वकर्माले केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सबैले मान्नुपर्ने बताउँदै सभापति थापा प्रधानमन्त्रीको उम्मेदवार बनेकामा आफूहरूको पनि सहमति रहेको स्पष्टीकरण दिएका हुन्। कांग्रेसमा नयाँ नेतृत्व फेरिएसँगै अहिले देशभर पार्टीकाे माहाेल बन्दै गएकाेमा देउवा पक्ष अनभिज्ञ भने छैन ।