काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भिपिएनबाट सामाजिक सञ्जाल चलाउन निकै गाह्रो हुने बताएका छन् ।

देउवाले शनिबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवसमा आयोजित कार्यक्रमका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । बालेनले सोही तस्बिरमा कमेन्ट गर्दै देउवालाई यो पोस्ट कुन भिपिएन नेपाली कि विदेशी भनेर प्रश्न गर्दै भिपिएनबाट सामाजिक सञ्जाल चलाउन निकै गाह्रो हुने बताएका हुन् ।

ADVERTISEMENT

कांग्रेस अहिले प्रमुख सत्ता साझेदार दल हो । कांग्रेस आफैं सरकारमा रहेका बेला सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि बालेनले विरोध गर्दै देउवालाई प्रश्न गरेका हुन् । कांग्रेसमै पनि सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको कदमको आलोचना भइरहेको छ ।

आइतबार मात्र कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै सरकारसँग छलफल गर्ने निर्णय गरेको छ । कांग्रेसका अधिकांश पदाधिकारी सरकारको कदमको विरोधमा छन् । सरकारले आफ्नो आलोचना सुन्न नचाहेको र नागरिकको मुख बन्द गर्न कानुन नै नबनाई निर्देशिकाकै भरमा सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ । जसलाई लिएर अहिले देश विदेशमा सरकारको विरोध भइरहेको छ ।