काठमाडौं । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सभापति शेरबहादुर देउवाको निर्देशनपछि खड्काले आइतबार देउवा निवास महाराजगन्जमा बस्ने गरी बैठक बोलाएका हुन् ।
पार्टीभित्र विशेष महाधिवेशन विवाद र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले विशेष महाधिवेशनको औचित्व समाप्त भएको भनेर निर्णय गरेपछि कांग्रेसभित्र विवाद चर्किएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाविधेशन बोलाउनु विधानको बाध्यता रहेको भन्दै पुस २७–२८ का लागि भृकुटीमण्डपको हल बुक गरिसकेका छन् । उनीहरूले शनिबार वरिष्ठ कानुन व्यवसायीहरूसँग विशेष महाधिवेशन बोलाउँदा आइपर्ने कानुनी अप्ठेराबारे परामर्श गरेका थिए । कानुन व्यवसायीहरूले कांग्रेस विधानमै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गरे बोलाउन मिल्ने सुझाव दिएका थिए ।
विशेष महाधिवेशनलाई सिंगो कांग्रेसको स्वामित्व लिनेगरी औपचारिक रूपमा बोलाउन महामन्त्री शर्माले शनिबार कार्यवाहक सभापति खड्कालाई भेटेरै आग्रह गरेका थिए । पार्टी केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाएर नीतिगत निर्णय गर्ने र पार्टी एक भएको सन्देश लिएर निर्वाचनमा जाने प्रस्ताव महामन्त्रीले शर्माले गरेका छन् । संस्थापन पक्षले बलमिच्याइँ गरेपछि विेशेष महाधिवेशन निश्चित भएको र त्यसले पार्टी विभाजनको डिलमा पुगेको भन्दै कांग्रेस सभापति देउवा र कार्यबाहक सभापति खड्कामाथि मिलेर अघि बढ्न दबाब परेको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा संविधान जारी गर्ने सबै राजनीतिक दलहरूबीच भागबण्डा गरेर जाने विषयमा समेत अनौपचारिक छलफल भइरहेका छन् । कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक संवाद भइरहेका छन् । देउवाले यसका लागि रमेश लेखकलाई वार्ताको जिम्मेवारी दिएका छन् । तर कांग्रेसको अर्को खेमा भने राष्ट्रिय सभामा सहकार्य गरे पनि प्रतिनिधिसभा निर्वाचनमा एक्लै जानुपर्ने पक्षमा छ ।







