जनकपुर। जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा आज बिहान आयोजित आरतीमा काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता बालेन्द्र शाह (बालेन) सहभागी भएका छन्। आरतीमा उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए।

बिहानै जानकी मन्दिर पुगेका बालेन र अमरेशले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका थिए। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको जानकी मन्दिरमा दुई चर्चित राजनीतिक व्यक्तित्वलाई एकसाथ देखेपछि स्थानीयवासी तथा दर्शनार्थीहरूको उल्लेख्य भीड लागेको थियो।

ADVERTISEMENT

आरती तथा दर्शन सम्पन्न गरेपछि बालेन मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा मनाइने बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन सिरहाको लहानतर्फ प्रस्थान गरेका छन्। उनको तालिका अनुसार बिहान ८ बजे लहानस्थित मधेशी शहीद पार्कमा पुगेर शहीदप्रति माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

ADVERTISEMENT

यसैबीच, बालेन आजै जनकपुरधाममा रास्वपाले आयोजना गरेको ‘परिवर्तनको उद्घोष सभा’मा सहभागी हुनेछन्। सो सभामार्फत उनले पार्टी सभापति रवि लामिछानेसँग एउटै मञ्चबाट पहिलोपटक संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

ADVERTISEMENT