काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफ आइ यू–नेपाल) ले भुक्तानी सेवा प्रदायकहरूमार्फत ठूलो परिमाणमा शंकास्पद मनी लन्ड्रिङ भएको आशंका सार्वजनिक गरेको छ। एफआइयू–नेपालले विभिन्न रिपोर्टिङ संस्थाबाट प्राप्त सूचनाको एकीकृतरुपमा विश्लेषण गर्दा ११ अर्ब ८० करोड रुपैयाँभन्दा बढी शंकास्पद कारोबार फेला परेको हो।

एफआइयू–नेपालका अनुसार ४५ वटा रिपोर्टिङ संस्थाबाट प्राप्त ४२८ वटा शंकास्पद कारोबार/गतिबिधि प्रतिवेदन र निर्धारित सीमाभन्दा बढीको कारोबार विवरण ( टिटिआर)  को विश्लेषण गरिएको थियो। यस क्रममा ३०७ वटा बैंक तथा भुक्तानी सेवा प्रदायक (पिएसपि)  खाताहरूको संलग्नता देखिएका छन्। शंकास्पद गतिविधि मुख्यतया पिएसपिका अपरेशनल तथा सेटलमेन्ट खातामा केन्द्रित रहेको पाइएको छ, जहाँ डिजिटल सेवा प्रदायकको प्रकृतिसँग नमिल्ने गरी ठूलो परिमाणमा र बारम्बार नगद जम्मा गरिएको थियो।

ADVERTISEMENT

विश्लेषणले नगद जम्मा गरेपछि तुरुन्तै अन्य खातामा रकम सार्ने, बिचौलिया तथा सेटलमेन्ट खातामार्फत रकम, एउटै व्यक्ति वा संस्थाको विभिन्न बैंक तथा संस्थामा घुमाईएको देखाएको छ। कारोबारको उद्देश्य अस्पष्ट वा व्यवसायको प्रकृतिसँग मेल नखाने विवरणसमेत भेटिएको एफआइयू–नेपालले जनाएको छ। यसले रकमको स्रोत र गन्तव्य लुकाउन ‘लेयरिङ’  प्रयोग गरिएको पाइएको छ ।

ADVERTISEMENT

कसरी लेयरिङ्ग गरि रकमको स्रोत र गन्तव्य लुकाईन्छ भन्ने तस्बिर

ADVERTISEMENT

एफआइयू–नेपालले पिएसपि खाताको प्रयोग, विभिन्न संस्थामा संरचनागत रूपमा कारोबार विभाजन, स्पष्ट आर्थिक उद्देश्यबिना तीव्र रूपमा रकम सार्ने तथा एउटै व्यक्ति र लाभग्राहीको बारम्बार प्रयोगजस्ता मनी लन्ड्रिङका उच्च जोखिम संकेत पहिचान गरेको छ। यस्ता संकेत ठूलो संख्यामा र निरन्तर देखिएकाले गतिविधि संयोगवश नभई संगठित र प्रणालीगत रहेको निष्कर्ष निकालिएको छ।

यस प्रकरणमा पिएसपि पूर्वाधारको समन्वित दुरुपयोग भएको र यो आधारभूत अपराधसँग जोडिएको हुन सक्ने एफआइयूको मूल्याङ्कन छ। त्यसअनुसार एफआइयू–नेपालले आफ्ना कानुनी दायित्वअनुसार शंकास्पद प्रतिवेदनलाई व्यवहारिक वित्तीय गुप्तचर सूचनामा रूपान्तरण गरी सम्बन्धित कानून कार्यान्वयन निकायलाई विस्तृत प्रतिवेदन पठाएको जनाएको छ।

एफआइयू–नेपालको सूचनाका आधारमा कानून कार्यान्वयन निकायहरूले अनुसन्धान सुरु गरिसकेका छन्। अनुसन्धानमा पिएसपि खातामार्फत असामान्य नगद जम्मा, भाउचरमा आधारित राफसाफ र नियमन छल्ने गतिविधि संगठित नेटवर्कमार्फत भएको देखिएको छ। समीक्षा अनुसार पिएसपि स्थापना भएदेखि अनुसन्धान अवधिसम्ममा  कुल कारोबार १२३ अर्ब रुपैयाँ नाघेको छ, जसमध्ये करिब ९६ अर्ब रुपैयाँ भाउचरमा आधारित जम्मा र राफसाफसँग सम्बन्धित छ।

अनुसन्धानमा १,९५९ जना एजेन्ट पहिचान गरिएका छन्, जसमध्ये १,५४७ जना सक्रिय थिए। १,१४५ एजेन्टले अनिवार्य रसिद अपलोड नगरी कारोबार गरेको पाइएको छ। आठ जना एजेन्टले एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् भने उनीहरूको कुल कारोबार १४ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

कानून कार्यान्वयन निकायहरूले केही व्यक्तिहरूलाई ‘मनी म्युल’ का रूपमा प्रयोग गरी नगद प्रणालीमा भित्र्याइएको, उनीहरूको आय स्रोतसँग नमिल्ने रकम जम्मा गरिएको र तेस्रो पक्षको नियन्त्रणमा कारोबार भएको निष्कर्ष निकालेका छन्। यी गतिविधि अवैध हुण्डी, व्यापार–आधारित मनी लन्ड्रिङ, कर छल, संगठित आर्थिक अपराधसँग जोडिएको आशंका गरिएको छ।

अनुसन्धानले आपराधिक आम्दानीलाई अनौपचारिक व्यापारको हिसाब मिलान , उच्च मूल्यका सम्पत्तिमा लगानी, भर्चुअल एसेटको प्रयोग तथा व्यक्तिगत र व्यवसायिक खातामार्फत पुनः प्रणालीमा घुमाउने प्रयास भएको देखाएको छ।