काठमाडौँ।द ब्रिटिस कलेजमा आन्दोलनको नाममा रकम मागेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार अनामनगरबाट २८ वर्षीय विवेक ढकाललाई नियन्त्रणमा लिएको हो।
ढकाल काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली–४ का स्थायी बासिन्दा हुन् र हाल जोरपाटीमा बस्दै आएका छन्। उनी उक्त कलेजका पूर्वविद्यार्थीसमेत हुन्। जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार कलेज प्रशासनले ढकालमाथि रकम माग्ने र नदिए कलेज बन्द गराइदिने धम्की दिएको उजुरी दिएको थियो।
ब्रिटिस इन्टरनेशनल कलेज, जो किल युनिभर्सिटीसँग सम्बन्धित छ, विद्यार्थीलाई विदेशमा इन्टर्नसिप गराइदिने आश्वाससँगै भर्ना गर्ने गरेको थियो। तर उक्त व्यवस्था लागू नभएको भन्दै केही महिनादेखि विद्यार्थी आन्दोलन गर्दै आएका थिए। प्रहरीका अनुसार पक्राउ परेका ढकालमाथि थप अनुसन्धान भइरहेको छ।