काठमाडौं । द ब्रिटिस कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६ का लागि रणनीतिक सम्झौता भएको छ। सम्झौताअनुसार क्यान महासंघ स्ट्राटेजिक अर्गनाइजिङ पार्टनरको रूपमा रहनेछ।
सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिस कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।
यो सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान हो। देशव्यापी नवप्रवर्तन र प्रादेशिक पहुँच नेपालको उद्यमशीलता केवल काठमाडौँ उपत्यकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो साझेदारीले देशव्यापी रणनीति तय गरेको छ ।
नेपालका विभिन्न प्रदेशहरूमा स्थानीयस्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू सञ्चालन गरिनेछ। नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिनेछ।

साझेदारीका क्रममा दुवै संस्थाका नेतृत्वकर्ताहरूले नेपालको आर्थिक समृद्धिका लागि स्टार्टअप कल्चर र डिजिटल फाउन्डेसनको महत्त्वमाथि जोड दिएका छन् ।
‘नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक हुन्। क्यान महासंघसँगको यो साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्नेछ,’ कँडेलले भने ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले द ब्रिटिश कलेजसँगको सहकार्यले देशव्यापी रूपमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै हाम्रा प्रविधी उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने बताए । ‘क्यान महासंघ स्थापनाकालदेखि नै नेपालको सूचना प्रविधि र नवप्रवर्तनको विकासमा समर्पित छ,’ उनले भने ।
सिलिकन भ्याली र एक मिलियन डलरको सुनौलो अवसर
पेगासस टेक भेन्चर्सद्वारा विश्वव्यापी रूपमा आयोजना हुने स्टार्टअप वर्ल्ड कप विश्वकै सबैभन्दा ठूला र प्रतिष्ठित स्टार्टअप प्रतिष्पर्धाहरूमध्ये एक हो। यो विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुने गर्दछ।
नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्यालीमा हुने ग्लोबल ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्। विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै विजेताले एक मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ भन्दा बढी) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछन्।







