काठमाडौं । सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ ।
आज बिहान ६ः३० बजेको मापनमा ललितपुर सानेपाको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस देखिएको मौसमविद् उज्ज्वल उपाध्यायले जानकारी दिए । जुन यस वर्षकै सबैभन्दा चिसो रहेको उनको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे पुनः मापन र्गो गर्छ । त्यतिबेला काठमाडौंको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ । काठमाडौंसहित हाल देशका अन्य स्थानमा पनि तापक्रम घट्दो छ ।
देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।







