काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले नियन्त्रणमा लिई देश बाहिर लगिएको दाबी गरेका छन्।
ट्रम्पले आफ्ना सामाजिक सञ्जालमार्फत अमेरिकी विशेष सैन्य कारबाहीका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरिएको बताएका हुन्। अमेरिकी प्रशासनले यस कारबाहीलाई कानुनी र सुरक्षासँग जोडिएको कदमका रूपमा प्रस्तुत गरे पनि मादुरो हाल कहाँ राखिएका छन् र उनीमाथि औपचारिक कानुनी प्रक्रिया सुरु भएको छ वा छैन भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
भेनेजुएलाको राजधानी काराकससहित विभिन्न क्षेत्रमा ठूलो विस्फोटको आवाज, हवाई गतिविधि र केही स्थानमा विद्युत् सेवा अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकाले मादुरोमाथि लागुऔषध तस्करी, संगठित अपराध र ‘नार्को–आतंकवाद’सँग जोडिएको आरोप लगाउँदै लामो समयदेखि खोजी सूचीमा राख्दै आएको थियो।
भेनेजुएलाका सरकारी अधिकारीहरूले अमेरिकी दाबीलाई अस्वीकार गर्दै यसलाई राष्ट्रिय सार्वभौमिकतामाथिको आक्रमण र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेका छन्। भेनेजुएलाले राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेको र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको समाचारमा उल्लेख छ।
यो घटनाप्रति अन्तर्राष्ट्रिय समुदाय विभाजित देखिएको छ, जहाँ केही देशहरूले अमेरिकी कदमलाई समर्थन जनाएका छन् । रुस, इरान र क्युबाजस्ता मुलुकहरूले कडा निन्दा गरेका छन्। चीनले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन सर्कुलर गरेको छ ।







