काठमाडौं । भेनेजुएलामा सैन्य हस्तक्षेपविरुद्ध महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आइतबार अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेको हो ।
भेनेजुएलाको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप बन्द गर्न र उसको सार्वभौमसत्ता रक्षाको माग राख्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
शनिबार बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सैनिकले भेनेजुएलाको राजधानी काराकासका विभिन्न सैन्य अखडामा मिसाइल आक्रमण गरेको थियो । जसकारण काराकास अहिले सुनसान बनेको छ । लगत्तै अमेरिकी सेनाले राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिई न्युयोर्क लगेका छन् । मदुरोलाई अहिले लागूऔषध, मानव बेचबिखन र तस्करीको मुद्दा लगाउने तयारी भइरहेको छ ।
अमेरिकाले सार्वभौमसत्ता सम्पन्न मुलुकको राष्ट्रपतिलाई अपहरण गरी लगेको र भेनेजुएलाको तेल भण्डारमा कब्जा जमाउन खोजेको भन्दै रुस, चीन, भारतलगायत विभिन्न देशले आपत्ति जनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले मदुरोलाई तत्काल रिहा गर्न माग गरेका छन् ।








