काठमाडौं। नेपालको राजनीतिक परिदृश्यमा वैकल्पिक शक्तिहरूबीच सहकार्य र एकताको लहर चलेका बेला प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उज्यालो नेपाल पार्टीबीच पनि चुनावी एकता वा पार्टी एकीकरणको तयारी भइरहेको छ।
उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले वैकल्पिक तथा प्रगतिशील शक्तिहरूसँग सम्मानजनक सहकार्यका लागि खुला रहेको बताएका छन्। यसै क्रममा प्रलोपा सँग संवाद अघि बढेको स्रोतहरूले जनाएका छन्। प्रलोपाका अध्यक्ष परिषद् सदस्य सुदन किरातीले पनि श्रम संस्कृति पार्टी र उज्यालो नेपालजस्ता दलहरूसँग एकता गर्न तयार रहेको उल्लेख गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी, जसको नेतृत्व डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियारलगायतले गरेका छन्, वामपन्थी विचारधारामा आधारित छ। यो पार्टी नेपाल समाजवादी पार्टी, प्रगतिशील राष्ट्रिय अभियान र अन्य समूहहरूको एकीकरणबाट गत नोभेम्बरमा गठन भएको हो। पार्टीले प्रगतिशील समाजवाद, बहुदलीय प्रणाली र नेपाली विशेषताको समाजवादलाई मुख्य एजेन्डा बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीचको हालैको सहमतिपछि कुलमानलाइ पार्टी एकिकरणको दबाब बढेको छ। उज्यालो नेपाल र प्रलोपाबीचको सम्भावित एकताले वाम तथा प्रगतिशील धारलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। दुवै पक्षबाट आधिकारिक घोषणा भने हुन बाँकी छ, तर आजै सहमति पत्रमा हस्ताक्षर हुन सक्ने सम्भावना रहेको छ।








