काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र रास्वपा सभापति रवि लामिछानेको सम्भावित मोर्चाबन्दीले ठूलो दलका शीर्ष नेता ‘सिन’ मा देखिन छाडेका छन् । पछिल्लो तीन दिनयता रवि र बालेनबीच तेस्रोपटक भेटवार्ता भएको छ । दुवैबीच आगामी फागुन २१ गते हुने निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल जारी छ ।
बालेनले यतिबेला ललितपुरको कुपण्डोलस्थित कुमार व्यञ्जनकारको घरलाई ‘मुकाम’ बनाएका छन् । जहाँ उनी र रविबीच बिहीबार दिउँसो साढे दुई घन्टाभन्दा बढी भेटवार्ता भयो । बालेनसँगको भेटपछि बाहिरिँदै गर्दा रविले ‘सकारात्मक’ भएको भन्दै परिणामका लागि केही समय प्रतीक्षा गर्न आग्रह गरे ।
बिहान ऊर्जामन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका बालेनले त्यसपछि कांग्रेस नेता सुनिलकुमार शर्मा, रवि लामिछाने, अमरेशकुमार सिंह र बाबुराम भट्टराईसँग निरन्तर संवाद गरेका छन् । जेनजी अभियन्ता रक्षा बमका अनुसार बालेनले ‘नाउ आइएम इन पोलिटिक्स’ भनेर फुलटाइन राजनीतिमा उत्रिएको जनाउ दिएका छन् । निरन्तर विभिन्न दलका नेतासँग भेट र एकै ठाउँमा बसेर रणनीति बनाइरहेका बालेनले आफूलाई राजनीतिको केन्द्रविन्दुमा उभ्याएका छन् । आजको भेटवार्ताको दृश्यले २०४६ को चाक्सीबारीस्थित गणेशमान सिंह निवासमा कांग्रेससहित विभिन्न वाम दलबीच भएको वार्तालाई सम्झाएको विश्लेषण हुन थालेको छ ।
बालेन र रविबीचको म्याराथन भेटवार्तापछि अहिले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई जस्ता कुनै बेला देश हाँकेका नेता ‘सिन’ मै देखिन छाडेका छन् । जेनजी आन्दोलनले एकैपटक नेपालको राजनीतिमा ठूलो जार्गन ल्याएको देखिएको छ ।
बालेनले अहिले जसरी ‘रणनीतिक मुभ’ लिएका छन्, यसबाट उनी आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने स्पष्ट देखिएको छ । हिजोसम्म रास्वपाको साधारण सदस्यता लिएर बस भनेर रविले गरेको आग्रहलाई बालेनले तीन दिनमै खेल उल्टाइदिएका छन् । रविसँग वार्ता नमिले बालेन ‘लौरो’ टेक्ने निश्चयमा पुगेको उनी निकट नेताहरूको भनाइ छ ।
बालेनले एक साथ नयाँ र पुराना दलका नेता तथा आफ्नो क्षेत्रमा स्थापित व्यक्तिसँग बुधबार राति होटल हिमालयमा लामो छलफल गरेका थिए । जहाँ डा. भगवान भण्डारी, कांग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाही, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतसँग छलफल गरेका थिए । जसमा उनले आफू पार्टी राजनीतिमा होमिने जानकारी गराएका थिए ।
यता, सहकारी ठगी कसुरमा अदालतबाट धरौटीमा रिहा भएका रविसामु भने कसरी ठूला दलका नेतालाई साइजमा ल्याउने भन्ने चुनौती खडा भएको छ । एक्लै अघि बढ्दा चुनावमा सोचेजस्तो सफलता नपाउने, मिलेर जाउँ प्रधानमन्त्रीको पद हात नपर्ने भएकाले बालेनसँगको तेस्रोपटकको भेटवार्तामा पनि रविले कुनै सहमति गर्न सकेका छैनन् । सम्भवतः आजै राति बालेन र रविबीच केही सहमतिको खाका निस्कने अनुमान गरिएको छ ।







