काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा सञ्चालित दुवै पार्टीबीच आगामी ९ पुसमा काठमाडौँमा पार्टी एकता हुने भएको छ ।

राप्रपाका एक केन्द्रीय सदस्यले वृत्तान्त न्यूजलाई दिएको जानकारी अनुसार दुवै पार्टीका अध्यक्षहरूबीच आजै सहमति पत्रमा हस्ताक्षर गर्ने अन्तिम तयारी भइरहेको छ । यो एकताले राजावादी तथा हिन्दुवादी शक्तिहरूलाई एकीकृत गर्दै राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।

लामो समयदेखि छुट्टाछुट्टै सञ्चालनमा रहेका यी दुई पार्टीबीच पछिल्लो समय वार्ता र संवाद बढेको थियो । एकतापछि बन्ने नयाँ पार्टीको नाम, नेतृत्व र नीतिगत विषयहरू सहमति पत्रमै उल्लेख हुने बताइएको छ ।

यो एकताले राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक एकतलाई मजबुत बनाउने र आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने विश्वास नेताहरूको छ । एकताको औपचारिक घोषणा ९ पुसमा काठमाडौँमा हुने कार्यक्रममा गरिने तयारी छ ।