काठमाडौं । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राप्रपा छाडेका कमल थापा बुधबार राप्रपा फर्किने भएका छन् ।
लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता घोषणा हुँदैछ । झण्डै चार वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारीका रुपमा आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहबाट एकता घोषणा हुन लागेको हो ।
एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाउने लिङ्देनको प्रतिवद्धता छ । राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधिसभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन । राप्रपाले पेस गरेको बन्दसूचीमा पनि कमल थापा पक्षधरहरु समेटिएका छैनन् ।
राप्रपाले महाधिवेशन ६ महिना पर सारेको र निर्वाचनको माहौल भएकाले अहिले सम्मानजक हैसियतमा पार्टी निर्माणमा सक्रिय हुने तयारी मात्रै रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । जेनजी आन्दोलनपछि राजनीतिक ध्रुवीकरण तीव्र बनेका बेला थापा पनि मूलघरमै फर्किन लागेका हुन् ।
थापा अघिल्लो निर्वाचनमा एमालेको सूर्य चिन्ह लिएर चुनावमा उठेका थिए । उनलाई राप्रपाका दीपकबहादुर सिंहले पराजित गरेका थिए ।







