काठमाडौं । ब्रिटिस कलेजले प्रतिष्ठित संस्थामाथि भ्रामक र अपुष्ट आरोप लगाइनु निन्दनीय भएको बताएको छ । पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल तथा अन्य आमसञ्चारमाध्यममार्फत कलेजविरुद्ध बदनियतपूर्वक फैलाइएका भ्रामक सूचना, दोषपूर्ण सामग्री तथा सार्वजनिक आरोपबारे प्रस्टीकरण दिँदै त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । कलेजले प्रस्टीकरणमा नौवटा आधार पनि देखाएको छ ।
संस्थागत तथा कानुनी आधार, कार्यक्रम संरचना तथा शैक्षिक प्रगति, इन्टर्नसिपको अवसर, दुबईमा आवासको व्यवस्था, केही विद्यार्थीको नेपाल फिर्ता र फिर्ती प्रक्रिया, सामाजिक सञ्जालको दुरुपयोग तथा क्याम्पस अवरोध, शोषण वा मानव तस्करीसम्बन्धी आरोप, विद्यार्थीको हित तथा विकास र विद्यार्थीको शैक्षिक गतिविधिको निरन्तरता र अभिभावकलाई आश्वासनलगायतका विषय उल्लेख गर्दै कलेजले भ्रममा नपर्न आग्रह गरेको छ ।
हाल २५ भन्दा बढी देशका तीन सयभन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सेवा प्रदान गर्दै आएको जानकारी गराउँदै कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँगको औपचारिक अनुबन्धमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेको छ । साथै, कलेजले नेपालका सम्बन्धित नियामक तथा संस्थागत मापदण्डअनुसार अवलम्बन गर्नुपर्ने सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै आएको स्पष्ट पारेको छ ।
कलेजले विद्यार्थीहरूको व्यावसायिक सीपहरू विकासका लागि इन्टर्नसिपको अवसर प्रदान गरिने तर ग्यारेन्टी नगरिने विद्यार्थीहरूलाई भर्नापूर्व नै जानकारी गराइने गरिएको जनाएको छ ।
कलेजले दुबई जाने विद्यार्थीहरूलाई प्रारम्भिक आगमन र बसोबास सहज बनाउन तेस्रो पक्ष सेवा प्रदायकमार्फत अस्थायी आवासको व्यवस्था गरिएको तर कुनै पनि अवस्थामा विद्यार्थीहरूलाई बेवास्ता गरिएको, बेघर बनाइएको वा अलपत्र पारिएको भन्ने सबै दाबी पूर्ण रूपमा झुटो, असत्य, भ्रामक र तथ्यहीन रहेको उल्लेख गरेको छ ।
करिब ५१ जना विद्यार्थीहरूमध्ये नौजना विद्यार्थीहरू व्यक्तिगत असन्तुष्टिका कारण तीन महिनापछि नेपाल फर्किएको जानकारी गराउँदै कलेजले उनीहरूलाई इन्टर्नशिपको अवसर प्रदान गरिएको जनाएको छ ।
मंसिर २३ दिन केही विद्यार्थीहरूले कलेजको पूर्वअनुमति र स्वीकृतिबिना प्रत्यक्ष छलफलको क्रममा सामाजिक सञ्जालमा सामग्री प्रसारण गरेको र त्यसबाट कलेजका कर्मचारीहरूलाई अनावश्यक पीडा पुगेको जनाएको छ । पुस ७ गते अभिभावकहरूसँग समाधानमुखी छलफल भइसकेको अवस्थामा पनि, बाह्य संस्थासँग सम्बन्धित केही व्यक्तिहरूले विद्यार्थीको समर्थनको नाममा परिस्थिति अशान्त बनाउने प्रयास गरेको भन्दै कलेजले दुःख प्रकट गरेको छ ।
पुस ८ गते समस्या समाधानका प्रयास जारी रहँदा पनि, हाल कलेजमा भर्ना नभएका व्यक्ति तथा विद्यार्थी संघको नाम प्रयोग गर्दै आएका बाह्य समूहका केही व्यक्तिहरूले अनधिकृत र भ्रामक भिडियोहरू सार्वजनिक गरी अपुष्ट तथा दोषपूर्ण आरोप फैलाउने, कलेजको कार्यालयमा तोडफोड गर्ने तथा शैक्षिक गतिविधि अवरुद्ध गर्ने कार्य गरेकोमा आपत्ति जनाएको छ । जसकारण कलेजको सुरक्षा तथा शैक्षिक वातावरण सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न सुरक्षा निकायको सहयोग लिनुपर्ने अवस्था सिर्जना भएको पनि स्पष्ट पारिएको छ ।
ब्रिटिस कलेजमाथि लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी सबै आरोपलाई कलेजले पूर्ण रूपमा अस्वीकार गरेको छ । कलेजले आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रम नियमित तथा निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको जनाएको छ ।







