काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ओली महासचिव शंकर पोखरेललाई लिएर देउवालाई भेट्न उनको निवास महाराजगन्ज पुगेका हुन् । देउवाका साथमा पत्नी आरजु राणा देउवा पनि थिइन् ।
एक महिनाको अवधिमा देउवा र ओलीबीच यो दोस्रो भेट हो । ११औं महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्षमा चुनिएको केही दिनमै ओली देउवालाई भेट्न पुगेका हुन् ।
अघिल्लो पटक ओली श्रीमती राधिका शाक्यका साथमा देउवालाई भेट्न पुगेका थिए । उनीहरूबीच झन्डै दुई घन्टा कुराकानी भएको थियो । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै ७० पूर्वसांसदको हस्ताक्षर बोकेर सर्वोच्च अदालतमा पूरक निवेदन दिने कांग्रेसको तयारीपछि ओली र देउवाबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । एमालेले घोषित रूपमै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने र सर्वोच्च अदालतभन्दा अगाडि नै राष्ट्रपतिले सो कार्य गर्नुपर्ने औपचारिक धारणा सार्वजनिक गरिसकेको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की फागुन २१ को चुनावको तयारीमा लागिरहेका बेला ओलीले देउवालाई भेटेपछि राजनीति फेरि तरंगित बनेको छ । कतै कार्की सरकारलाई विस्थापित गर्न सहकार्य हुन लागेको त होइन भन्ने चर्चा सुरु भएको छ । स्रोतका अनुसार ओली र देउवाबीच प्रतिनिधिसभा पुनःस्थापनाका साथै आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा सहकार्यको विषयमा छलफल भएको छ ।
आगामी फागुन २० गतेदेखि १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । जसमध्ये १८ जना निर्वाचनमार्फत र एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।








