काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई वार्ताका लागि पत्र पठाएकी छन् । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले मंगलबार प्रसाईका नाममा पत्र लेखेका हुन् ।

मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने छलफलका लागि प्रसाईलाई आमन्त्रण पत्र पठाइएको हो । प्रधानमन्त्रीको स्वकीय सचिवालयको पत्र नागरिक बचाऊ महाअभियानका प्रतिनिधि देवीप्रसाद संग्रौलाले बुझेका छन् ।

ADVERTISEMENT

प्रसाईको महाअभियान र सरकारबीच यसअघि सिंहदरबारमा वार्ता भएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालसँगको वार्तामा महाअभियानका संयोजक सहभागी थिए । त्यसबेला प्रसाईले आफू प्रधानमन्त्री कार्कीसँग वार्ता भए आउने, नभए अरुलाई पठाउने बताएका थिए । प्रसाईकै अनुरोधमा प्रधानमन्त्री कार्की उनलाई भेट्न सहमत भएकी हुन् ।

प्रसाईले प्रधानमन्त्री कार्कीलाई अमर्यादित तवरले विभिन्न आरोप लगाएका थिए । उनले प्रधानमन्त्री कार्कीको शारीरिक बनोटलाई लिएर अशिष्ट अभिव्यक्ति दिएका थिए ।

ADVERTISEMENT

प्रसाईले आफ्ना माग पूरा नभए फागुन २१ गते निर्वाचन हुन नदिने चेतावनी दिएपछि प्रधानमन्त्री कार्कीले आफैं छलफल गर्न खोजेकी हुन् । यसअघि प्रधानमन्त्री कार्कीले एमाले र राप्रपाका शीर्ष नेतासँग छलफल गरिसकेकी छन् । प्रसाई समूहले सडक आन्दोलनको धम्की दिँदै आएको छ ।