काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले आफूहरू शान्तिपूर्ण आन्दोलनबाट पछि नहट्ने बताएका छन्। आइतबार होटल एभरेस्टमा सम्पादकहरूलाई बोलाएर उनले हालको राजनीतिक, सामाजिक र धार्मिक अवस्थाप्रति असन्तोष जनाउँदै आन्दोलनलाई अझ तीव्र बनाउने घोषणा गरेका हुन्।
जेन–जी आन्दोलनमा बार्बरा फाउन्डेशनको स्वार्थ मिसिएकाले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतसम्ममा आगजनी भएको उनले बताए ।
‘नेताको घर जल्नु स्वाभाविक हो, आक्रोश थियो,’ प्रसाईंले भने, ‘सिंहदरबारमा रासयनिक पदार्थ हालेर जलाइएको छ।’ प्रधानमन्त्री सुशीला कार्कीका सल्लाहकार बार्बरा फाउन्डेसनसँग सम्बन्धित रहेको दाबी गर्दै उनले हालका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको भूमिका पनि प्रश्न उठाए। उनका अनुसार जेन–जी आन्दोलनमा भएको दमनबारे गठित छानबिन आयोगमा बसेका गौरीबहादुर कार्कीले पहिल्यै सामाजिक सञ्जालमा कारबाहीबारे लेखेका थिए।
प्रसाईले अबको आन्दोलनलाई पूर्ण रूपमा नेपाली जनताको आन्दोलनका रूपमा अघि बढाउने घोषणा गरे। ‘म यहीँ मर्छु, विदेश जान्नँ। यहीँ मारे पनि मर्न तयार छु,’ उनले भने। उनले अबको आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाएर अघि बढाउने बताए। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, यही आन्दोलनले नेपाल बनाउँछ,’ प्रसाईंले भने, ‘अब देश जोगाउने कुरा हो, हामी पछि हट्दैनौँ।’
सरकारले प्रसाई समूहलाई संवादमा आउन आह्वान गरेको छ । यदि वार्ता र संवादका लागि तयार नभए आवश्यक बल प्रयोग गर्ने गृह मन्त्रालयको तयारी छ । सुरक्षा संयन्त्रले जेनजी आन्दाेलनमा प्रसाई समूहकाे घुसपैठ रहेकाे निष्कर्ष निकालेकाे छ ।






