काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताएका छन् ।
राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा ‘शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारी’ बारे धारणा राख्दै उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी भएको बताए ।
‘निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न राजनीतिक दल, सरोकारवाला र कूटनीतिक नियोगका प्रमुखलगायतसँग छलफल एवं परामर्श गरिएको छ,’ उनले भने । मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको उनको भनाइ छ ।
निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन भएको जानकारी दिँदै गृहमन्त्रीले कार्यदलले पेस गरेको प्रतिवेदनलाई केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गरी कार्यान्वयमा ल्याइने बताए ।
गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीलाई समेत मताधिकारको अधिकार प्रदान गर्ने सम्बन्धमा कानुन संशोधनको गृहकार्य अगाडि बढेको स्पष्ट पारे । ‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको छ’, उनले भने, ‘यसबाट दुई लाख बढी मतदाता थप भएका छन् ।’
निर्वाचनको लागि सुरक्षा निकायका लागि आवश्यक पर्ने श्रोत र साधनको कतिपय व्यवस्थापन भइसकेको र कतिपय व्यवस्थापन हुने क्रममा रहेको गृहमन्त्रीको भनाइ छ ।
वर्तमान सरकारसँग देश र आमजनताको उच्च अपेक्षा रहेको जनाउँदै गृहमन्त्रीले छोटो अवधिको बावजुद जनताका आकांक्षालाई कानुनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने प्रतिबद्धता जनाए ।







