काठमाडौं । २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको निकै चर्चा थियो । उनकै कारण ०४६ सालको आन्दोलनले सफलता पाएको थियो ।

आन्दोलन सफल भएपछि गणेशमान सिंहलाई राजा वीरेन्द्रले प्रधानमन्त्रीको अफर गरे । तर गणेशमानले प्रधानमन्त्रीको अफर स्वीकारेनन् । बरु उनले कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरे । भट्टराईले एक वर्षमै संविधान बनाएर चुनाव गराए । तर पनि सबैले नाम गणेशमानकै लिन्थे । तर गणेशमानले कहिल्यै पनि व्यक्तिगत स्वार्थको काम गरेनन् ।

०६४ सालको संविधानसभा निर्वाचनपछि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । देश प्रचण्डको वरिपरि केन्द्रित थियो । प्रचण्डले जे भन्यो त्यही हुन्थ्यो । विद्रोहीका सर्वोच्च कमान्ठर, त्यसमाथि प्रधानमन्त्री पनि प्रचण्ड कम शक्तिशाली थिएनन् । तर पनि प्रचण्ड त्यति विवादमा आएनन् । व्यक्तिगत स्वार्थमा उनी लागेनन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुधन गुरुङ नाम गरेका पात्रको निकै चर्चा छ । जेनजी आन्दोलनको नेतृत्व गर्ने कोही नभएपछि ‘हामी नेपाल’ का संयोजक गुरुङले आन्दोलन हाइज्याक गरे । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, नेपाली सेनादेखि सबैले उनलाई नै प्राथमिकता दिन थाले । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनकै कारण गुरुङ यतिको शक्तिशाली बनेका हुन् ।

कतिसम्म भने सुधन गुरुङले मन्त्री बनाउने र फेर्ने तागत राख्न थालेका छन् । कहिले राष्ट्रपतिलाई थुतेर निकाल्छु भन्छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा देऊ भन्छन् । उनकै सिफारिसमा बब्लु गुप्ता मन्त्री नियुक्त भए ।

अहिले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध खनिएका छन् । कहिले राजीनामा माग्छन्, कहिले एमालेको गृहमन्त्री बन्यो भन्छन् । कहिले आफ्नो माग पूरा नभए फागुन २१ गते चुनाव नै हुन दिन्नौं भन्छन् । तर पनि ठूला दलका नेताहरू मूकदर्शक बनेर बसेका छन् ।