काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि केही समयसम्म गुमनाम बनेका एमाले अध्यक्ष केपी ओली अहिले पूरै फिट भएका छन् । आन्दोलनका बेला सेनाको हेलिकोप्टर चढेर भगौडा प्रधानमन्त्रीको रेकर्ड राखेका ओली पहिलेकै जस्तो आफ्ना विरोधीलाई हरेक दिनजसो झटारो हान्ने क्रमलाई निरन्तरता दिएका छन् ।

अहिले दिनहुँजसो ओली सार्वजनिक कार्यक्रममा देखिने गरेका छन् । उनले आफ्नो पुरानो सचिवालयलाई पूर्ण परिचालन गरिसकेको देखिन्छ । किनभने कुनै कार्यक्रम भएन भने मिडियामा अन्तर्वार्ता दिने, पार्टीका नेता कार्यकर्ता भेटघाट गर्ने, पार्टीका विभिन्न संगठनको कार्यक्रम राखेर आफ्ना भनाइ सार्वजनिक गर्ने कामलाई ओलीले तीव्रता दिएका छन् । खासगरी पछिल्लो समय ओलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र जेनजीलाई प्रहार गरिरहेका छन् ।

ADVERTISEMENT

ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भन्दै दुई दिन पनि नटिक्ने दाबी गरेका छन् । शुक्रवार एमाले शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ लाई सम्बोधन गर्दै उनले भने, ‘इतिहास छैन, परम्परा छैन, जनसमर्थन छैन, लुटपाट र आतंकको जगमा उभिएको यो सरकार दुई दिन पनि टिक्दैन ।’

पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने व्यवस्था संविधानमा नभए पनि कार्की भने असंवैधानिक रूपमा बनेको उनको भनाइ थियो ।

ADVERTISEMENT

‘संविधानले स्पष्ट रूपमा रोकेको ठाउँमा पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री हुन मिल्दैन,’ओलीले भने, ‘जानीजानी संविधान उल्लंघन गरेर सत्तामा पुगेकी व्यक्ति नेतृत्वको यो सरकार सोझै असंवैधानिक हो, यो हावाको भरमा टिकेको हल्लाको सरकार हो ।’ उनले सरकार गठन प्रक्रियालाई पनि ‘डिस्कोर्डबाट भएको भोटिङ’ भन्दै व्यङ्ग्य गरे । ‘दुई तीन हजार केटाकेटी डिस्कार्डमा जम्मा पारेर भोट हालिएको रहेछ,’ उनले प्रश्न गरे, ‘मतपत्र कस्तो थियो रु रेजा लगाइयो कि प्वाल पारियो रु कसले गन्यो ?’

ओलीले यो सरकार न संविधानअनुसार बनेको न त जनअनुमोदित नै भएको जिकिर गरे । ‘२४ गतेको आगजनी, तोडफोड र अराजकताको बलमा जन्मिएको यो सत्ता लोकतन्त्र, संविधान, संसद् र जनप्रतिनिधित्वको शत्रु हो,’ ओलीले भने ।

ओलीले भदौ २४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार संविधानअनुसार हुँदै नभएको जिकिर गरे । यो सरकारले लोकतन्त्र, संविधान र जनताको प्रतिनिधित्वसँग वैरभाव बोेको पनि ओली आरोप लगाएका छन् ।

ओलीसँग केही दिनपछि जाँचबुझ आयोगले बयान लिने तयारी गरेको छ । तर ओलीले आफ्ना सबै भनाइ सार्वजनिक गरिसकेका छन् । यसक्रममा उनले नेपाली सेना, प्रचण्डलगायतको भूमिका शंकास्पद देखिएको आरोपसमेत लगाएका छन् ।