काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दैछ । बैठकमा महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेस गर्ने भएका छन् । यसअघि दुईपटक कांग्रेस बैठक स्थगित भएको थियो ।
केन्द्रीय समिति बैठकअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको पहलमा ताला खोलेको कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले जानकारी दिए । आइतबार कांग्रेस केन्द्रीय समिति स्थगित गरेपछि ४० वर्षमुनिका युवाहरूले केन्द्रीय कार्यालयको गेटमा लगाएको ताला खुलेको हो ।
उता, कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाउँस्थित थापागाउँ व्याङ्क्वेटमा सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनेहरूले विशेष भेला गरिरहेका हुन् ।
भेलामा महामन्त्री गगन थापा, शेखर कोइराला पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् । भेलामा कांग्रेस केन्द्रीय सदस्यहरू अजयबाबु सिवाकोटी र प्रतिमा गौतम, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, काठमाडौं सभापति सबुज बानियाँ, ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ मलेकु, नेता गुरुराज घिमिरे सहभागी छन् ।
विशेष महाधिवेशन माग्दै असोज २९ गते २४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो ।







