काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ । जेनजी आन्दोलनका बेला भएको आगजनीपछि क्षतिग्रस्त पार्टी कार्यालयमा शुक्रबार कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो ।

यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भर्चुअल रूपमा सातै प्रदेश सभापति र जिल्ला सभापतिहरूको बैठक राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा आन्दोलनका बेला घाइते भई अस्पतालमा उपचाररत रहेको अवस्थामा खड्काले भर्चुअल बैठक राखेर जेनजी आन्दोलन र नयाँ सरकार गठनबारे औपचारिक धारणा सार्वजनिक गरेका थिए ।

शुक्रबारको बैठकको सभापतित्व उपसभापति खड्काले गरेका थिए । बैठकमा अर्का उपासभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री रमेश रिजाल, महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, उमाकान्त चौधरी, बद्री पाण्डे, बलबहादुर केसीलगायत उपस्थित थिए ।

महामन्त्री थापा र शर्माले जेनजी आन्दोलनपछिको अवस्था, देशभर पार्टी कार्यालयको पुनर्निर्माण, आगामी आमनिर्वाचनलगायतका विषयमा धारणा राखेका थिए । दुवै महामन्त्रीले पार्टीको पुनर्र्सरचना गरेर जानुपर्ने बताएका थिए ।