क्वालालम्पुर । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेका छन् ।

दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने बताइएको छ ।

सम्झौतापछि अमेरिकी युद्धमन्त्री हेगसेथले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै भारतसँगको सम्बन्ध ‘पहिला कहिल्यै यति बलियो नभएको’ उल्लेख गरेका छन् । उनले उक्त सम्झौतालाई ‘क्षेत्रीय स्थिरता र प्रतिरोधका लागि आधारशिला’ भन्दै दुवै देशबीचको रक्षा साझेदारीले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

हेगसेथका अनुसार नयाँ रक्षा ढाँचाले समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहयोगलाई अझ विस्तार गर्नेछ । उनले भने, ‘हामीले हाम्रो सहकार्य, सूचनात्मक साझेदारी र प्राविधिक तालमेललाई नयाँ स्तरमा पुर्‍याउँदैछौं । भारतसँगको हाम्रो रक्षा सम्बन्ध अब सबैभन्दा बलियो चरणमा पुगेको छ ।’

भारतीय रक्षामन्त्री सिंहले पनि उक्त भेटवार्तालाई ‘फलदायी’ भन्दै १० वर्षे सम्झौता ऐतिहासिक उपलब्धि भएको बताए । उनले एक्समा लेखेका छन्, मलेसियामा अमेरिकी समकक्षी पीट हेगसेथसँग फलदायी भेटवार्ता सम्पन्न भयो । हामीले ‘फ्रेमवर्क फर द युएस–इन्डिया मेजर डिफेन्स पार्टनरसिप’ नामक १० वर्षे सम्झौतामा हस्ताक्षर गर्‍यौँ, जसले हाम्रो बलियो साझेदारीमा नयाँ युगको सुरुआत गर्नेछ ।’