काठमाडौँ। आज देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल सम्वत् ११४६ प्रारम्भ गरिएको छ। नेवार समुदायका लागि यो दिन नयाँ वर्षको रूपमा विशेष महत्वका साथ मनाइन्छ।
नेपाल सम्वत्को सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (ई. सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरेर गर्नुभएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व–उपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको थियो।
उनका अनुसार, “नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको हो र पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रूपमा प्रचलित रह्यो। लिच्छविकालअघि शक सम्वत प्रयोगमा थियो, तर नेपाल सम्वत् देशकै नामबाट राखिएको हुनाले यो पूर्णतः मौलिक सम्वत् हो।”
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिलाउन निरन्तर अभियान चलाइएको छ। यसलाई नयाँ वर्षका रूपमा विशेषतः काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रका नेवार समुदायले हर्षोल्लासका साथ मनाउँछन्।
गरिब जनताको ऋणमोचन गरी सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका साथै नेपालमा मौलिक सम्वत् चलाउने कार्यको सम्मानस्वरूप तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले वि.सं. २०५६ सालको नयाँ वर्षका दिन शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
त्यसपछि, वि.सं. २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्रदान गर्ने घोषणा गरेका थिए।
कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा अझै काठमाडौँमा जीवित छ, जसले नेपाल सम्बतको ऐतिहासिक र सांस्कृतिक निरन्तरताको सन्देश दिन्छ।











