रामपुर, पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा एक वृद्धा महिलाको कुटपिटपछि हत्या भएको छ। गएराति झडेवा बस्ने ३७ वर्षीय मिनबहादुर विश्वकर्माले ७६ वर्षीया फूलमाया जिसीमाथि आक्रमण गरी उनको हत्या गरेका हुन्।

घटनामा फूलमायाका ८२ वर्षीय श्रीमान प्रेमबहादुर जिसी गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारपछि लुम्बिनी मेडिकल कलेजमा लगिएको घाइते जिसीलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गएराति १२:३५ बजे घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले घटनामा संलग्न विश्वकर्मालाई पक्राउ गरेको हो। उनी घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।

स्थानीयका अनुसार कुटपिटका क्रममा धारिलो हतियारसमेत प्रयोग गरिएको थियो। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।