काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् ।







