काठमाडौं । बजारमा देखिएको ग्यास अभाव नियन्त्रण गर्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीतिलाई ग्यास व्यवसायीले अस्वीकार गरेका छन्। ग्यास व्यवसायीहरूले आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलोको पूरा सिलिन्डर नै बिक्री गर्ने घोषणा गरेका हुन् ।

ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघको संयुक्त बैठकपछि यो निर्णय गरिएको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए। उनका अनुसार डिजेलको मूल्यवृद्धिका कारण ढुवानी खर्च धान्न नसक्ने अवस्था बनेपछि यस्तो निर्णय लिन बाध्य भएको हो। व्यवसायीहरूले सरकारले ल्याएको आधा सिलिन्डर (७.१ किलो) नीतिले उपभोक्ता र व्यवसायी दुवैलाई असर गरेको दाबी गरेका छन्। उनीहरूले अबदेखि पूरा तौलको सिलिन्डर बिक्री गर्ने बताएका छन् र सरकारलाई औपचारिक जानकारी दिने तयारी गरेका छन्।

अध्यक्ष अर्यालले ढुवानी खर्चमा सहुलियत नदिए कारोबार नै प्रभावित हुने चेतावनी दिएका छन्। व्यवसायीहरूले आगामी दुई महिनाभित्र ग्यासको गम्भीर अभाव हुन सक्ने समेत बताएका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले उद्योगमा पर्याप्त मौज्दात भए पनि आधा सिलिन्डर नीतिका कारण वितरण प्रणाली प्रभावित भएको छ। उद्योगीहरूले बुलेटबाट आएको ग्यास अनलोड र ढुवानी प्रक्रिया समेत जाम भएको बताएका छन्। सरकार र नेपाल आयल निगमले भने आपूर्ति सहज बनाउन प्रयास भइरहेको बताउँदै आएका छन्।