काठमाडौं । चौधरी ग्रुपले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने भएको छ । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले बुधबार यस्तो घोषणा गरेका हुन् ।

चौधरीले जेनजी आन्दोलनका शहीदप्रति हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति समवेदना ब्यक्त गर्दै निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको पनि उल्लेख गरेका छन् ।

‘यद्यपि यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ। यस कठिन समयमा चौधरी ग्रुप शहीद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न निम्नअनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ । जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ,’ निर्वाण चौधरीले भनेका छन् ।

आन्दोलनका क्रममा सतुंगलस्थित सिजी कम्पनीमा आगजनी गरी ध्वस्त गरिएको थियो । साथै, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवाससमेत तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।

जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७६ जनाको मृत्यु भइसकेको छ । जसमा भाटभटेनी डिपार्टमेन्टल जलाउन गएका १४ जनाको शव भवनभित्रै फेला परेको थियो । तीनजना प्रहरी मारिएका थिए । पाँचजना कैदीबन्दीको मृत्यु भएको थियो । त्यसैले ककसलाई शहीद मान्ने भन्ने अहिलेसम्म सरकारलाई जानकारी दिएको छैन ।