काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा विपद् घटनाहरू घटेका छन् । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा ६५ वर्षीया एक महिला, ६ र ९ वर्षीया दुई बालिका र ८ वर्षीया एक बालकको मृत्यु भएको छ ।

घटनामा एक महिला र दुई बालिकासहित तीन जना घाइते भएका छन् । प्रहरी चौकी हरिपुर्वाको टोलीले घाइतेलाई उद्धार गरी स्थानीय मेडिकलमा उपचार भइरहेको जनाएको छ ।

ADVERTISEMENT

त्यसैगरी, रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ तातोपानी, स्याउ प्राकिङ, बालुवाखानी र वडा नं. ३ लिङलिङ क्षेत्रमा पासाङ ल्हामु सडकखण्डमा लेदो र ढुङ्गा खस्दा बाटो अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय टिमुरेको टोलीले सडक खुलाउने प्रयास जारी राखेको छ ।

ADVERTISEMENT

पाल्पाको तानसेन नगरपालिका–१३ तातोपानीस्थित तानसेन–रानीमहल सडकखण्डमा सुख्खा पहिरो खस्दा बाटो आंशिक अवरुद्ध भएको छ । प्रहरी पोस्ट रानीमहलको टोलीले पहिरो हटाउने कार्य गरिरहेको छ ।

रुकुम पूर्वको भुमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय काक्रीको टोलीले पहिरो पन्छाएर सडक सुचारु गरेको छ ।

यसैबीच, झापाको बिर्तामोड नगरपालिका–३ नढियाबारीमा ३२ वर्षीया एक महिला खेतमा बाख्रा चराउने क्रममा चट्याङ लागेर घाइते भइ उपचारका क्रममा मृत्यु भएको छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका–५ भञ्ज्याङमा अविरल वर्षासँगै परेको चट्याङ लागेर एक भैंसी मरेको छ । यसबाट करिब १ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–२ कुवापानीमा रहेको एक बाख्रा फर्ममा चट्याङ लाग्दा ६ वटा बाख्रा मरेका छन् ।