काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा औसत स्थानभन्दा केही माथि तथा पूर्वमा औसत स्थान आसपास रहेकाले मौसम पूर्ण रूपमा प्रभावित भएको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली, पहाडी तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

ADVERTISEMENT

आज राति पनि मौसममा उल्लेख्य सुधार नआउने जनाइएको छ। देशका अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा जारी रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।

ADVERTISEMENT

महाशाखाले अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।