काठमाडौं । नवनियुक्त प्रभु बैंकका अध्यक्ष किशोरजंग कार्कीले सोमबार पदभार ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरेका छन् ।

राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बमबहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दीर्घ रावलको उपस्थिति थियो। सो अवसरमा प्रभु बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतज्यूको पनि उपस्थिति थियो ।

ADVERTISEMENT

गत पुस २९ मा सम्पन्न बैंकको तेईसौं वार्षिक साधारणसभामा सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका कार्कीले यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राक्तिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सचिवको रुपमा सेवा गरिसकेका छन् ।

ADVERTISEMENT

त्यसैगरी निजामती किताबखाना, आन्तरिक रजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गरेका छन् ।

३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका कार्की अध्यक्ष हुनु सबैको लागि गौरवको विषय भएको प्रभु बैंकले जनाएको छ ।