काठमाडौं। अमेरिकाले इजरायल–हमासबीच करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न २० बुँदे शान्ति योजना सार्वजनिक गरेको छ। यस योजनाको मूल उद्देश्य गाजालाई “आतंकमुक्त र शान्ति क्षेत्र” बनाउने रहेको छ, जसको अनुगमन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गठन हुने “बोर्ड अफ पिस” ले गर्नेछ। बोर्डमा अन्य अन्तर्राष्ट्रिय नेताहरू, जसमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसमेत रहने व्यवस्था गरिएको छ।

प्रस्तावअनुसार, इजरायलले औपचारिक स्वीकृति दिएलगत्तै ७२ घण्टाभित्र हमासले सबै इजरायली बन्धक — जीवित वा मृत — मुक्त गर्नुपर्नेछ। यसको सट्टामा इजरायलले आजीवन कारावास भोगिरहेका २५० प्यालेस्टिनी र युद्ध सुरु भएदेखि गाजामा पक्राउ परेका १,७०० कैदीलाई रिहा गर्नेछ। मृतक बन्धकको अवशेष फिर्ता भएमा त्यसको बदलामा १५ जना प्यालेस्टिनी मृतकका अवशेष हस्तान्तरण गरिने व्यवस्था पनि छ।

ADVERTISEMENT

युद्धविराम लागू भएपछि इजरायली सेना गाजाको तोकिएको क्षेत्रमा मात्र सीमित हुनेछ। तत्कालै सम्पूर्ण सेना फिर्ता नहुने भए पनि हतियारबन्द गतिविधि र हवाई आक्रमण रोकिनेछ। सबै बन्धक मुक्त भएपछि शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्ने र हतियार बिसाउने हमास सदस्यलाई आममाफी दिइनेछ। गाजा छोड्न चाहनेलाई सुरक्षित बाटोमार्फत अन्य मुलुकमा जाने व्यवस्था गरिने बताइएको छ।

ADVERTISEMENT

मानवीय संकट चर्किँदै गएको गाजामा तुरुन्तै “पूर्ण सहायता” आपूर्ति गरिनेछ। संयुक्त राष्ट्रसंघ, रेड क्रस र अन्य अन्तर्राष्ट्रिय संस्थामार्फत निष्पक्ष रूपमा सहयोग वितरण गरिनेछ भने राफाह नाकाको पुनः सञ्चालन पनि गरिनेछ।

गाजाको पुनर्निर्माणका लागि विशेष “ट्रम्प आर्थिक विकास योजना” ल्याइने प्रस्ताव गरिएको छ। यसले गाजालाई उच्च प्रविधि, आधुनिक शहर र पर्यटकीय तथा आर्थिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

ADVERTISEMENT

प्यालेस्टिनी राज्य निर्माणसम्बन्धी संवेदनशील विषय योजनाको अन्तिम भागमा मात्र समेटिएको छ, जसमा अन्तरधार्मिक संवाद र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ।