काठमाडौं । महिला हिंसाको स्वरूप फेरिँदै गएको छ । घरभित्र हुने शारीरिक तथा मानसिक हिंसासँगै अहिले सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुने दुर्व्यवहार, चरित्र हत्या, ब्ल्याकमेलिङ र आर्थिक ठगी महिलाका लागि नयाँ चुनौती बनेका छन् ।
महिला अधिकारकर्मी तथा नेतृहरूका अनुसार महिला हिंसा अन्त्य हुन नसकेको अवस्थामा प्रविधिको विस्तारसँगै हिंसाका नयाँ स्वरूप देखिन थालेका हुन् । सामाजिक सञ्जालमा महिलाको फोटो तथा भिडियो दुरुपयोग गर्ने, आधारहीन आरोप लगाउने, गालीगलौज गर्ने र धम्की दिने घटनाले महिलाको व्यक्तिगत तथा सामाजिक जीवनमा असर पारिरहेको उनीहरूको भनाइ छ ।
यद्यपि, हिंसाका घटना वास्तवमै बढेका हुन् वा पीडितले उजुरी गर्ने र आवाज उठाउने क्रम बढेको हो भन्ने निष्कर्ष निकाल्न पर्याप्त अध्ययन तथा तथ्याङ्क आवश्यक रहेको उनीहरू बताउँछन् ।
राष्ट्रिय सभा सदस्य तथा संसदीय दलकी नेता कमला पन्तले महिला हिंसा घट्नुको साटो यसको प्रकृति परिवर्तन हुँदै गएको बताइन् । विगतमा दाइजो, पारिवारिक दुर्व्यवहार र बुहारीमाथि हुने हिंसा बढी चर्चामा रहने गरे पनि अहिले सामाजिक सञ्जालमार्फत हुने साइबर अपराध, चरित्र हत्या र राजनीतिक हिंसासमेत चुनौतीका रूपमा देखिएको उनको भनाइ छ ।
पन्तका अनुसार सामाजिक सञ्जालमा महिलाको तस्बिर जोडेर गलत प्रचार गर्ने र आधारहीन आरोप लगाउने प्रवृत्तिले उनीहरूको प्रतिष्ठा तथा सामाजिक जीवनमा गम्भीर असर पारिरहेको छ ।
उनले महिला हिंसा अन्त्यका लागि कानुन निर्माण मात्रै पर्याप्त नहुने भन्दै भएका कानुनको प्रभावकारी कार्यान्वयन र निष्पक्ष अनुसन्धानमा जोड दिइन् । पीडितले उजुरी गर्दा उनीहरूको आर्थिक अवस्था, सामाजिक हैसियत वा पहुँचका आधारमा विभेद हुन नहुने उनको भनाइ छ ।
विशेषगरी आर्थिक रूपमा कमजोर परिवार, दलित समुदाय तथा पछाडि पारिएका वर्गका महिलाले भोग्ने हिंसालाई समान प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने पन्तले बताइन् । महिला हिंसा अन्त्यका लागि सरकार, प्रहरी प्रशासन, राजनीतिक दल, सामाजिक संस्था र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको उनको धारणा छ ।
त्यस्तै, पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले घरेलु हिंसा अझै प्रमुख समस्याका रूपमा रहे पनि डिजिटल माध्यमबाट हुने हिंसा थप चुनौतीपूर्ण बन्दै गएको बताइन् ।
उनका अनुसार सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सम्पर्क बढ्ने र त्यसको दुरुपयोग हुने जोखिम छ । सम्बन्धमा समस्या आएपछि निजी फोटो तथा भिडियो सार्वजनिक गर्ने धम्की दिने, ब्ल्याकमेलिङ गर्ने र आर्थिक ठगी गर्ने घटनासमेत डिजिटल हिंसाका स्वरूप हुन् ।
बस्नेतले सामाजिक सञ्जालमा मौखिक तथा लिखित दुर्व्यवहार, गालीगलौज र घृणास्पद अभिव्यक्तिले पनि महिलालाई प्रभावित पारिरहेको बताइन् । जनचेतना बढे पनि बलात्कारलगायतका हिंसाका घटना नरोकिएको उनको भनाइ छ ।
उनले महिला हिंसाका घटनामा वृद्धि वा कमी आएको निष्कर्ष निकाल्न पर्याप्त अनुसन्धान र तथ्याङ्क नभएको उल्लेख गरिन् । घरेलु हिंसा, बलात्कार र वैवाहिक बलात्कारविरुद्ध कानुनी व्यवस्था भए पनि डिजिटल हिंसा नियन्त्रण तथा सामाजिक सञ्जालको नियमनमा थप प्रभावकारी व्यवस्था आवश्यक रहेको उनको धारणा छ ।
बस्नेतका अनुसार हिंसा नियन्त्रणमा कानुनको संख्या बढाउनुभन्दा भएका कानुन कार्यान्वयन गर्नु महत्त्वपूर्ण छ । अनुसन्धानमा हुने कमजोरी र कार्यान्वयनको फितलोपनले पीडितलाई न्याय पाउन कठिन बनाइरहेको उनले बताइन् ।
महिला हिंसाको बदलिँदो स्वरूपले अब हिंसा नियन्त्रणको प्रयास घरपरिवार र सार्वजनिक स्थानमा मात्र सीमित राखेर नपुग्ने देखाएको छ । डिजिटल माध्यमलाई सुरक्षित बनाउने, पीडितको उजुरीलाई गम्भीरतापूर्वक लिने, निष्पक्ष अनुसन्धान गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।












