काठमाडौं । नेपाली नागरिकले अब भारतमा पनि क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सञ्चालन गर्ने विषयमा सहमति जुटेको हो।

ADVERTISEMENT

दुवै देशका भुक्तानी सेवा प्रदायकबीच भएको छलफलमा आगामी एक महिनाभित्र सेवा सुरु गर्ने लक्ष्य राखिएको छलफलमा सहभागी एक अधिकारीले बताएका छन्।

ADVERTISEMENT

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै नेपालीले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने विषय चर्चामा थियो। भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले यस विषयमा चासो देखाएपछि भारतीय पक्षले सोमबार र मंगलबार नेपाली पक्षसँग कार्यान्वयनबारे छलफल गरेको थियो।

मंगलबार सम्पन्न छलफल सकारात्मक भएको र सेवा सञ्चालनका लागि दुवै पक्ष तयार रहेको ती अधिकारीले बताएका छन्। उनका अनुसार आवश्यक पूर्वाधार दुवै देशले तयार गरिसकेका छन्। औपचारिक सहमति भएपछि सेवा तत्काल सुरु गर्न सकिने अवस्था छ।

भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपालको फोनपे नेटवर्कका अधिकारीहरूबीच यस विषयमा छलफल भएको हो।

यसअघि २०८० जेठमा भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी विस्तार गर्ने सम्झौता भएको थियो। त्यसबेला एनसीएचएलसँग व्यक्ति–व्यक्ति (पीटुपी) र फोनपेसँग व्यक्ति–व्यापारी (पीटुएम) भुक्तानी सेवा सञ्चालन गर्ने सहमति भएको थियो।

त्यसमध्ये एनसीएचएलसँग भएको सम्झौता गत जेठमा कार्यान्वयनमा आइसकेको छ। तर फोनपेमार्फत व्यक्ति–व्यापारीबीच क्यूआर भुक्तानी गर्ने व्यवस्था भने अझै सुरु भएको छैन।

गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग डिजिटल भुक्तानीसम्बन्धी समझदारी भएको थियो।

उक्त समझदारीअनुसार अन्तरदेशीय पीटुपी रेमिट्यान्स आदानप्रदान सुरु गरिएको थियो। त्यसबेला व्यक्ति–व्यापारीबीच क्यूआरमार्फत हुने भुक्तानीलाई अर्को चरणमा कार्यान्वयन गर्ने बताइएको थियो।

क्यूआर सेवा सुरु भएपछि नेपाली नागरिकले भारतका व्यापारी तथा व्यवसायीलाई डिजिटल माध्यमबाट सीधै भुक्तानी गर्न सक्नेछन्। यसले भारत भ्रमण गर्ने नेपाली पर्यटक, विद्यार्थी तथा व्यवसायीलाई नगद र कार्डमा निर्भर हुनुपर्ने अवस्था कम गर्ने अपेक्षा गरिएको छ।

हाल नेपाल–भारतबीच कसरी हुन्छ डिजिटल कारोबार?

हाल नेपाल र भारतबीच बैंकिङ प्रणाली तथा कार्डमार्फत विभिन्न सीमाभित्र रहेर रकम पठाउन र भुक्तानी गर्न सकिने व्यवस्था छ।

पहिलो, मोबाइल बैंकिङ वा कनेक्ट आईपीएसमार्फत बैंक खाताबाट अर्को व्यक्तिको खातामा रकम पठाउन सकिन्छ। नेपालमा रहेका भारतीय नागरिकले प्रतिकारोबार १५ हजार भारु र मासिक अधिकतम एक लाख भारुसम्म पठाउन सक्ने व्यवस्था छ। त्यस्तै, भारतमा रहेका नेपाली तथा भारतीय नागरिकले नेपाली बैंक खातामा प्रतिकारोबार दुई लाख भारुसम्म पठाउन सक्ने व्यवस्था रहेको सम्बन्धित अधिकारीले बताएका छन्।

दोस्रो, नेपाली तथा भारतीय नागरिकले पाँच सयभन्दा कम दरका भारतीय नोट २५ हजार रुपैयाँसम्म नेपाल–भारत आवतजावत गर्दा साथमा लैजान वा ल्याउन पाउने व्यवस्था छ।

तेस्रो, नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्डबाट भारतमा भुक्तानी गर्न सकिन्छ। कार्डमार्फत भारतीय एटीएमबाट दैनिक १५ हजार भारुसम्म र मासिक अधिकतम एक लाख भारुसम्म झिक्न सकिन्छ।

त्यस्तै, अस्पताल, औषधि पसल र होटलको बिल कार्डमार्फत भुक्तानी गर्दा १० लाख रुपैयाँसम्म बैंकको पूर्वस्वीकृति आवश्यक पर्दैन। सोभन्दा बढी भुक्तानी गर्नुपरे सम्बन्धित बैंकलाई जानकारी गराएर कार्डमार्फत कारोबार गर्न सकिने व्यवस्था छ।

क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएपछि यी विद्यमान माध्यमसँगै नेपालीका लागि भारतमा डिजिटल भुक्तानीको अर्को विकल्प थपिनेछ।