काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालमा लगानी विस्तार गर्न तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न कतार सरकारसँग आग्रह गरेका छन्।
मंगलबार नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीसँग भएको शिष्टाचार भेटवार्तामा सभामुख अर्यालले नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन्।
सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच रहँदै आएको सम्बन्धलाई नयाँ क्षेत्रमा विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
भेटका क्रममा सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्न आग्रह गरे।
उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानीको सम्भावना रहेको उल्लेख गर्दै लगानी भित्र्याउन आग्रह गरे।
त्यसैगरी, नेपालको कृषि उत्पादनलाई कतारको बजारसम्म पुर्याउने वातावरण बनाउन पनि उनले जोड दिए। नेपालमा उत्पादित फलफूल, तरकारी र अन्नलगायतका कृषि उपज कतार निर्यात गर्न आवश्यक समन्वय गर्न उनले राजदूतमार्फत आग्रह गरे।
हवाई सम्पर्क विस्तारलाई पर्यटन र व्यापार प्रवर्द्धनको महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गर्दै सभामुख अर्यालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न आग्रह गरे। उनले खेलकुदको विकास र प्रवर्द्धनमा पनि दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने बताए।
भेटमा सभामुखले भोटेकोसी नदीमा आएको बाढीपछि कतार सरकारले उपलब्ध गराएको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद व्यक्त गरे। साथै, नेपालको पुनर्निर्माण तथा पुनः स्थापनाका लागि कतारको थप सहयोग अपेक्षा गरेको बताए।
उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद एवं कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिए।
भेटमा कतारका राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए।












